अङ्क 47चैत्र 2069वर्ष 9

एउटा बूढो मानिसको धन्यवाद

                                 --वाल्ट ह्विटम्यान

 

यो बुढेसकालमा धन्यवाद छ

धन्यवाद छ- म जानुअघि।

मेरो जिन्दगीभरको स्वास्थ्यका लागि

कोमल घाम र हावालाई धन्यवाद छ।

मेरो जिन्दगीका लागि जिन्दगीलाई धन्यवाद छ

मूल्यवान् सम्झनाहरूका निम्ति

आमा, बा, साथी र सहेलीहरूलाई

धन्यवाद छ मेरो।

मैले बाँचिआएका सारा दिन,

विप्लव र शान्तिका दिनहरूलाई धन्यवाद छ।

कोमल शब्द बोल्नेहरूलाई

प्रेमले स्पर्श गर्नेहरूलाई

पदेशदेखि उपहार पठाउनेहरूलाई

भाग्दा शरण दिनेहरूलाई

मेरो धन्यवाद छ।

दूर-दिगन्तका अपरिचित प्रिय पाठकहरू

तपाईँहरूलाई धन्यवाद छ।

यद्यपि हामीले कहिल्यै भेटेनौँ, न त

कहिल्यै अब कहीँ भेट्ने छौँ

तर हाम्रा हृदय मिले, त्यसैले धन्यवाद छ।

मेरो धन्यवाद छ जीवन जिउनेहरूलाई

मानिसका जमात, प्रेम र संवादहरूलाई

मेरा प्रिय पुस्तकका स्रष्टाहरूलाई

धन्यवाद छ मजबुत र कोमल युवाहरूलाई

जसले सधैँ जीवन र स्वतन्त्रताका लागि लडे

म-नजिक र टाढाका अनाम भूमिहरूमा।

मेरो धन्यवाद छ वीर सपूतहरूलाई

प्रिय गीतका सर्जकहरूलाई

सुन्दर सोचका निर्माताहरूलाई

मानिसका हृदय जोड्नेहरूलाई

मेरो युगका महान् नेताहरूलाई धन्यवाद छ।

म जानुअघि उज्यालाका

अग्रदूतहरूलाई धन्यवाद छ

म जीवनको मैदानबाट फर्कन लागेँ

एक यात्री जो आफ्नै सीमासम्म पुगेर उभिएँ

तपाईँहरूका कारण मेरो जीवन खेर गएन

सबैलाई धन्यवाद छ।

--

अनुवादः मनु मन्जिल

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :